शिव श्रेष्ठ र फुटबल

सन्तोष रिमाल, काठमाडौं, असार २- जब विश्वकप फुटबलको महासंग्राम सुरु हुन्छ अभिनेता शिव श्रेष्ठ २८ बर्ष अघिको 'फ्ल्यास ब्याक'मा पुग्छन्। र, रोमाञ्चित बन्छन्। आफ्नो पहिलो सिनेमामै उनी एउटा फुटबलर नायकको रुपमा देखिएका थिए।प्रकाश थापा निर्देशित त्यस चलचित्र 'जीवनरेखा'मा उनी त्यस्तो पात्र हुन्छन्, जसले अन्त्यमा गोल गरेर टिमलाई विजयी बनाइदिन्छ। आजसम्म फुटबल समेटिएको नेपाली चलचित्रका रुपमा स्मरण हुने पनि त्यो नै एक्लो सिनेमा हो।
'म फुटबल खेलाडी बन्ने उद्देश्यले नै काठमाडौं आएको थिएँ,' वास्तविक जीवनमा पनि एकताका विराटनगरका फुटबल खेलाडी शिव भन्छन्,'तर, भाग्यले अन्तै पुर्‍याइदियो।' काठमाडौं आएपछि रंगशालामा उनी त्यति भिडेनन्। तर, पहिलो पटक खेलेको चलचित्र 'जीवनरेखा'मा तयार भएको फुटबलर छविले भने उनलाई अचानक ठूलै 'सेलिब्रेटी' बनाइदिएको थियो। 'सिनेमा हेरेका दर्शकले मलाई ठूलै खेलाडी भन्ठाने,' उनी सम्झन्छन्,'उनीहरु चलचित्रको दृश्य जस्तै म चमत्कार देखाउनसक्ने खेलाडी हूँ भन्ने सोच्थेँ।' बास्तविक खेलको दृश्य जस्तै महशुस गराउन चलचित्रमा टन्नै भरिएको रंगशालाले पनि सघाएको थियो। 'विना प्रचार प्रसार पनि दशरथ रंगशालामा यति मान्छे ओइरिएका थिए कि अहिले जस्तो फिल्ममा क्राउड खोज्ने झन्झट गर्नै परेन,' शिवले सम्झना गरे,'त्यति धेरै दर्शक पाउँदा मलाई फिल्म हैन बास्तवमै फुटबल खेलिरहेको जस्तो लागेको थियो।' त्यतिबेला मनोरञ्जनकालागि फुटबल शशक्त माध्यम थियो भन्छन् श्रेष्ठ। 'टेलिभिजन थिएन। फिल्म पनि थोरै बन्थे' उनी भन्छन्,'फुटबलको ठूलो क्रेज थियो।' खेलाडीकै सपना देखेर आएका शिवको निम्ति त्यो सिनेमाले एउटा अर्कै मोड तयार पारिदियो। 'पर्दाकालागि खेल्न त पाएँ,' उनी भन्छन्,' तर, म खेलाडी रहिन।' पहिलो फिल्म रिलिज भए लगत्तै एकाएक नेपाली र पाकिस्तानी फिल्ममा माग बढ्न थालेपछि उनी सधैका निम्ति खेलकूदको दर्शकमा सिमित बन्न पुगे। 'तिम्ले फिल्ममा जस्तै मैदानमा पनि खेल्न सकेको भए नेपाल पनि वर्ल्डकपमा प्रवेश गर्थ्यो होला,' साथीभाइसँग फुटबल हेर्न बस्दा अझैपनि उनलाई यस्तो प्रतिक्रिया आउँछ। त्यतिबेला उनी सम्झन्छन् निर्देशक प्रकाश थापालाई। 'उहाँले साह्रै बलियो चरित्र कोर्नु भएको रहेछ। अहिले पनि धेरैले सम्झन्छन्,' त्यतिबेलै फिल्ममा खेललाई समेट्ने निर्देशक थापाको प्रशंसा गरे उनले। 'यसो गर्दा खेलप्रेमि पनि फिल्म हेर्न आउँछन् भन्ने अनुमान गरेर उहाँले त्यसो गर्नु भएको होला,' यस्तो अनुमान लगाउँदै गर्दा त्यसपछिका फिल्मले खेलकुदलाई विषय नवनाएकोमा उनले दुःख पोखे। पेलेका फ्यान शिवले थपे,'नेपाली फिल्ममा खेलकूदलाई बुझेका निर्देशक भएनन्।' 'जीवनरेखा'को फुटबललाई 'भ्यु फाइन्डर'बाट नियालेका मञ्जुकुमार श्रेष्ठका अनुसार त्यतिबेला फिल्ममा फुटबलको प्रसंग राख्नु निकै चुनौतीपूर्ण थियो। खेलकुदका खबर थाहा पाउन रेडियो र पत्रिकाको भरपर्नु पर्ने त्यो समयमा फुटबल खेलेको कसरी खिच्ने उनीसँग खासै 'आइडिया' थिएन। 'अहिले जस्तो टेलिभिजनमा हेर्न पाउने भए सजिलै सिकिन्थ्यो होला। त्यो सम्भावना थिएन। त्यसैले फुटबलका दृश्य भएको केही फिल्म खोजें। र, घरमै प्रोजेक्टर फिट गरेर हेरें,' उनले आफ्नो अभ्यासको राज खोले। 'लो प्रोफाइल'बाट छिटै 'फेमस' बन्ने पात्रको कल्पना गरेका थिए निर्देशकले। त्यसलाई पुष्टी गर्ने उचित माध्यमा फुटबल नै भएको उनले बताए। 'त्यतिबेला मान्छे फुटबल खेलेर मात्रै रातारात प्रख्यात हुनसक्थ्यो,' सुटिङकालागि तीन दिन रंगशालामा विताएका मञ्जुकुमारले भने,'हिरोले प्रोफेसनल खेलाडीको जस्तो काम देखाउन नसक्दा धेरै ठाउँमा 'चिट' गर्नुपर्‍यो।' त्यसबेलाको 'शाही नेपाल चलचित्र संस्थान'ले निर्माण गरेको 'जीवनरेखा' हिरो शिव जस्तै क्यामेराम्यान श्रेष्ठको पनि पहिलो फिल्म थियो। संस्थान प्रविधिले सम्पन्न भएपनि प्राविधिकको अभावमा सजिलोसँग काम गर्न नपाएको उनको अनुभव छ। 'क्यामेरा दुइवटा थियो तर चलाउने मान्छे थिएनन्। लाईट थियो, त्यसलाई राम्ररी प्रयोग गर्न जान्ने मानिस थिएन। क्यामेराम्यानले नै सबै काम गर्नुपर्थ्यो,' उनी पनि अभिनेता श्रेष्ठकै जस्तो गुनासो पोख्छन्,'अहिलेको डिजिटल युगमा त्यस्तो दृश्य खिच्न निकै सजिलो छ। तर, निर्देशकहरुले यसतर्फ सोचिरहेका छैनन्।' From: Nagarik News

Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP