हङकङमा नाचिन् अनुराधा
हङकङ, माघ १३ - 'सीएनएन हिरो' अनुराधा कोइराला दर्शकदीर्घाको पहिलो लहरमा थिइन् । स्टेजमा थिए- गायकबाट नायकको चिनारी समेत बनाएका प्रशान्त तामाङ । डेनी डेन्जोङपाको सदाबहार गीत 'हिउँभन्दा चिसो, आगोभन्दा तातो...' मा उनले भाका हाल्नुथियो, याउ मा तेईस्थित हेनरी जी ल्योेङ हलको माहौल तात्दै गयो । तन्नेरी र पाका पुस्ता सराबरी रहेको समारोहमा अरूहरू ठाउँठाउँमै उठेपछि सीएनएन हिरोले पनि मन थाम्न सकिनन् । उनको छमछमीले वातावरणमा झन् जोस थप्यो ।
यो तीन दिनअघिको कुरा । माइती नेपालकी अध्यक्षसमेत रहेकी कोइरालालाई त्यसको अघिल्लो दिन हङकङ नेपाली महासंघले अभिनन्दन गरेको थियो । आयोजककै विशेष आग्रहमा उनी उक्त सांगीतिक रमझम 'हिमालयन साँझ' मा सामेल भएकी थिइन् ।
इन्डियन आइडलको उपाधि हात पारिसकेपछि प्रशान्तको यो तेस्रो आगमन थियो । तर यसपटक पनि उनको आकर्षणमा त्यति कमी देखिएन । कार्यक्रम माघ महिनामा भए पनि उनले गाएको 'असारै महिनामा...' गीतले पाका पुस्तालाई उसै गरी तानेको थियो । जीटीभीको सांगीतिक प्रतियोगिता सारेगमपका सहभागी नेपालीभाषी कर्मा शेर्पा पनि निम्त्याइएका थिए । नेपाली र हिन्दी सरोबरी गायका उनको आकर्षक स्टेज प्रस्तुतिले धेरैलाई असिनपसिन हुनेगरी नचायो ।
संगीतकार दिनेश सुब्बाको संयोजनमा आयोजित साँझमा स्थानीय कलाकारहरूका प्रस्तुति पनि थिए । परम्परागत पहिरनमा सजिएका दिदीबहिनी रोसा र मुना लिम्बू, 'भ्वाइस अफ पोखरेली झ्याल' का पछिल्ला विजेता टोपराज तामाङ, सन्तोष गुरुङ, कमल राईले चल्तीका गीतमा भाका हालेका थिए । मुललाइट डान्स सेन्टरका कलाकारहरुको छरितो नृत्यले रौनक थपेको थियो ।
फेरि पालो आयो- प्रशान्तकै । यति बेला उनी झन् जोस भर्ने मुडमा देखिए । उनले आफ्नो पहिलो गीति एल्बम 'धन्यवाद' मा समेटिएको गीत 'वीर वीर वीर गोर्खाली...' थालिहाले । उनलाई साथ दिन कर्मा पनि स्टेजमा उक्लिए । यी दुईको जोसिलो स्वरमा स्वर मिलाउँदै सहभागीहरू मजाले नाचे ।
साभार: कान्तिपुर अनलाइन