सक्कली बन्दुक नक्कली निशाना
जेम्स क्यामरुनले सत्य घटनामा आधारित 'टाइटानिक' होस् वा शुद्ध स्वैरकाल्पिक 'अवतार' सबै फिल्ममा 'टाइम' र 'स्पेस'लाई मध्यनजर गरेका छन्। 'टाइटानिक'मा सन् १९१२ को एटलान्टिक सागर र 'अवतार'मा सन् २१५४ को 'प्यान्डोरा' नामक काल्पनिक उपग्रहलाई कथानकको धरातल बनाइएको छ।
फिल्ममा पात्रहरू जिउँदा त हुन्छन् तर तिनीहरू कुन ठाउँ र कुन समयको हावाले सास फेरिरहेका हुन्, खुल्दैन। राजेश हमाल, रेखा थापाहरूले पर्दामा देखाएका 'छवि'हरूको समाजशास्त्रीय व्याख्या र न्याय गरिएको पाइँदैन।
भर्खरै रिलिज भएको नेपाली फिल्म 'ब्याच नम्बर १६'मा सबैजसो दृश्यमा जादु भर्ने प्रयास गरिएको छ। तर यही 'टाइम' र 'स्पेस'को न्यूनतम सन्तुलन मिलाउन नसक्दा फिल्म हावाको महल हुनबाट जोगिएको छैन।
हरेक मान्छेभित्र लालच हुन्छ र त्यो जुर्मुरायो भने मान्छेले जस्तोसुकै अपराध गर्नसक्छ। मान्छेको यो ध्रुवसत्य अवगुणमा आधारित 'ब्याच नम्बर १६'को कथानकमा एक खालको आकर्षण छ। धेरै पहिले यादव खरेलको 'लोभीपापी'मा मान्छेको यो अवगुणको सूक्ष्म चित्रण गरिएको थियो। तर, 'लोभीपापी'मा यथार्थ थियो भने 'ब्याच नम्बर १६'मा अतिरञ्जना हाबी छ।
लिबियाबाट नेपाली कामदार इजिप्टतिर लागेको प्रसंग टेलिभिजन 'स्क्रलिङ'मा उल्लेख भएकोले 'ब्याच नम्बर १६'मा देखाइएको कथा वर्तमान समयको मान्न सकिन्छ। निर्देशक तथा लेखक पिताम्बर पाण्डेले यो समयमा नेपालमा हुनसक्ने घटना मात्र फिल्ममा समेटेका भए 'टाइम' र 'स्पेस' सन्तुलित देखिन्थ्यो। तर, उनले फिल्ममा कृत्रिम जलप पोतिदिएका छन्। विश्वास होइन सहनै नसकिने दृश्य पनि छन् फिल्ममा।
सानाठूला अपराध र भ्रष्टाचारमा प्रहरी संलग्नताको खुलासा बेलाबखत भइरहने हाम्रो समाजमा 'प्रहरी नै अपराधमा होमिएको' कथा सान्दर्भिक लाग्छ। दण्डहीनताले थिलथिलो बनेको न्याय प्रणालीको हल्का 'रिफ्लेक्सन' पनि फिल्ममा देखिन्छ। तर, स्वभाविक घटनालाई अस्वभाविक ढंगले बुनिएको छ।
इतिहास, राजनीति, मनोविज्ञान, अर्थतन्त्र र सामाजिक संरचनालाई गहिराइमा बुझेको मान्छेमात्र राम्रो फिल्म निर्देशक बन्न सक्छ। नेपालका धेरैजसो फिल्म निर्देशक यो मान्यताका हिमायती छैनन्। 'ब्याच नम्बर १६'मा पात्रको नौलो मनोविज्ञान देखिन्छ तर त्यस्तो मनोविज्ञानलाई जन्माउने वा उर्जा दिने सामाजिक तŒवहरूको पहिचान छैन।
अहिलेको समयमा प्रहरीले अपराधी नै किन नहोस् बिना तर्क मान्छे मार्यो भने निलम्बन र कानुनी कारवाहीको भागिदार हुनसक्छ। फिल्म 'ब्याच नम्बर १६'को सुरुवात यस्तै तर्कहीन दृश्यबाट हुन्छ। अपहरणकारी समूह हेर्दा सानातिना टोले गुन्डाजस्ता देखिन्छन्। तर, अत्याधुनिक हतियार बोकेका उनीहरूलाई दुई सशस्त्र प्रहरीले भँगेरासरह मारिदिन्छन्। त्यो दृश्य नराख्दा फिल्ममा फरक पर्दैनथ्यो।
हो, हाम्रो समाजमा सानातिना घटनामा बन्दुकको प्रयोग बढ्दो छ। तर, फिल्ममा जस्तो खुलमखुला देखाएर बोकिँदैन बन्दुक। अपराधीलाई पनि थाहा छ, बन्दुक लुकाउने वस्तु हो, देखाउने होइन। एउटी युवतीले बाहिरै देखिने गरी मिनीस्कर्टमा पेस्तोल भिरेको अझ हाँसउठ्दो छ। एक्सन फिल्म बनाउन यस्तो नौटंकी अनिवार्य छैन।
बोलिने र लेखिने भाषा फरक हुन्छ। अरू धेरै नेपाली फिल्ममा जस्तै यसमा पनि पात्रहरूले लिखित भाषा बोल्छन्, स्त्रीलिंग, पुलिंग, एक वचन र बहु वचन सबै मिलाएर। यसले कलाकारको अभिनयमा अवरोध सिर्जना त गरेको छ नै, संवाद लेखकको भाषिक निरीहपन उजागर भएको छ। पात्रहरूले बेलाबेला जबरजस्ती अंग्रेजी र देशभक्तिको नारा फलाक्दा लाज मान्नु पर्ने अवस्था आउँछ।
सुमन सिंह र अर्पण थापाको अभिनय प्रशंसनीय छ। सुमन अन्तर्मुखी र अर्पण बाहिरमुखी चरित्रमा छन्। मानसिक विक्षिप्तता बाहिर प्रदर्शन गर्न दुवै सफल छन्। यसमा निर्देशकको अक्कल देखिन्छ। अर्पणको भविष्य सुनौलो देखिन्छ। सुष्मा कार्कीको चाहिँ कतिपय दृश्यमा कुन अंगले 'अभिनय' गरिरहेको हो, ध्यान दिएर हेर्नुपर्छ।